Back to top

शिशु तथा बाल्यकालीन पोषण रणनीति २०७३

स्वास्थ्य मन्त्रालय

नवजात शिशु तथा बाल मृत्युदर मूलुकको स्वास्थ्य स्थिति सम्बन्धी महत्वपूर्ण परिसूचकको रुपमा रहेको हुन्छ र यसले नागरिकको जीवनस्तर र देशको सामाजिक तथा आर्थिक विकासलाई पनि दर्शाउँछ । पोषण सुरक्षा बाल बचाऊ र विकासको आधार हो । शिशु मृत्यु घटाउने बिश्वव्यापी लक्ष्य हासिल गर्न नेपालले विगत १५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०११ को सर्वेक्षण अनुसार नेपालको शिशु मृत्युदर प्रति १,००० जीवित जन्ममा ४६ रहेको छ । तर देशका विभिन्न भौगोलिक क्षेत्र, समुदाय बीच यो अवस्था फरक–फरक रहेको छ भने समग्रमा पनि यो अवस्थामा अझै सुधार गर्नुपर्ने जरुरी छ । साथै नवजात शिशु को मृत्यु दरमा उत्साहजनक प्रगति हुन सकेको छैन । नेपालमा अझैपनि शिशु मृत्यु दरको दुई–तिहाई भन्दा बढी अंश नवजात शिशु मृत्यु दरले ओगटेको छ । शिशु तथा बाल्यकालिन पोषणको अवस्था कमजोर हुनु एक प्रमुख कारण हो भन्ने कुरा विभिन्न तथ्याङ्कले देखाएको छ । त्यसैले शिशु तथा बाल्यकालीन पोषणमा उल्लेखनीय रुपमा सुधार गरेमा मुलुकमा बालबालिकाको स्वास्थ्य, वृद्घि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।